रविलाई वीरगञ्ज लगियो

सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याएको हो


२४ मंसिर, काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ ।

सोमबार लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सिमरा पुर्‍याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याएको हो ।

यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ ।

तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।

यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् ।

यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।

त्यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ ।

लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा बयान भइसकेको छ ।

लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *