एक साता बित्दासम्म पनि आठ डीआईजी कामविहीन
लेखकले एक साता बित्दासम्म बढुवा भएका आठ डीआईजीहरूको पदस्थापन गर्न सकेका छैनन्
२४ मंसिर, काठमाडौं । एक साता बित्दासम्म आठ डीआईजीको पदस्थापन हुन सकेको छैन ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएको आठ डीआईजीको पदस्थापन हुन सकेको छैन ।
कामविहीन हुने डीआईजीहरूमा धु्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।
यसअघि बढुवा गरिएकै बेला पदस्थापन पनि सँगै हुने गरेको थियो । तर प्रदेश र केही महत्त्वपूर्ण ठाउँहरूको इन्चार्जमा जाने प्रहरी अधिकृतहरुको लबिइङका कारण डीआईजीहरूको अहिलेसम्म पदस्थापन हुन नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
प्रहरी नियमावलीअनुसार एसएसपी र डीआईजीको बढुवा, सरुवा तथा पदस्थापनको जिम्मा गृहमन्त्रीलाई हुन्छ । तर गृहमन्त्री रमेश लेखकले एक साता बित्दासम्म बढुवा भएका आठ डीआईजीहरूको पदस्थापन गर्न सकेका छैनन् ।