बालिका बलात्कार आरोपमा बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटी पक्राउ
१७ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पूर्व नगर प्रमुख शिवाकोटी पक्राउ
२४ मंसिर, काठमाडौं । बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका छन् ।
१७ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पूर्व नगर प्रमुख शिवाकोटी पक्राउ परेको प्रहरीले जनाएको छ। आफ्नै घरमा घरेलु कामदारको रुपमा रहेकी बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ परेको प्रहरीले जनाएको छ।
बुबाको मृत्यु भएपछि ती बालिका मेचीनगरस्थित एक आफन्तको घरमा बस्दै आएकी थिइन्। बालिकाको आमाले पनि दोस्रो विवाह गरेकी भारतको आसाममा गइसकेकी छिन्। शिवाकोटीका चिनजान पर्ने ती आफन्त घरमा बस्दै आएकी बालिकालाई आफ्नो घरको कामसँगै पढाउने भनी शिवाकोटीले लिएर गएका थिए।
स्कुल ड्रेसमा रहेकी ती बालिका शिवाकोटीको शारीरिक शोषण सहन नसकेर भागेर भारतको आसाम जान लागेकी थिइन्। काँकडभिट्टा गेटमा शङ्कास्पद रुपमा भारत जान लागेकी उनलाई माइती नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए। कक्षा ११ मा अध्ययनरत रहेकी ती बालिकालाई फकाएर सोधी खोजी गर्दा पूर्व मेयर शिवाकोटीको जघन्य कर्तुत बारेमा खुलेको उनले बताए।
उनले भने, ‘शिवाकोटीको शारीरिक तथा मानसिक तनावबाट मुक्त हुन नेपाल छाडेर जान लागेकी बताइन्।’ त्यसपछि माइती नेपालको सहयोगमा पीडित बालिका हजुरआमाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको र प्रहरीले शिवकोटीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले पक्राउ परेका शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जानकारी दिए।
गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै उनी बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।