महान क्रिकेटर ब्रायन लारा शुक्रबार नेपाल आउँदै
विश्व क्रिकेटका महान क्रिकेटर ब्रायन लारा शुक्रबार नेपाल आउँदै छन् । ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लिजेन्ड लारा विहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपिएल लिग हेर्न उनी नेपाल आउन लागेका हुन् ।
क्यानले एनपिएलको ब्रान्डिङका क्रममा चर्चित खेलाडीलाई ल्याइरहेको छ । एनपिएलमा भारतीय टोलीका पूर्वओपनर तथा इन्डियन प्रिमियर लिग (आइपिएल) कै नियमित खेलाडी शिखर धवन कर्णाली याक्सबाट चार खेल खेल्दै स्वदेश फर्केका छन् । सन् २०१५ को एकदिवसीय विश्वकपमा दोहोरो शतकीय इनिङ्स खेलेका न्युजिल्यान्डका मार्टिन गुप्तिल विराटनगर किंग्समा आबद्ध छन् ।
एनपिएलको खेल हेर्न इच्छुक
क्यानका अनुसार लाराले एनपिएलका केही खेल हेर्ने छन् । लाराले बुधबार सोसल मिडियाबाट आफू एनपिएलको खेल हेर्न इच्छुक भएको बताएका थिए । ‘मलाई नेपालमा चलिरहेको एनपिएल हेर्ने इच्छा छ,’ उनले भने ‘नेपाली समर्थकबाट न्यानो माया पाउने आशा छ ।’ सन् १९९० देखि २००६ सम्म लाराले वेस्ट इन्डिजबाट टेस्टमा प्रतिस्पर्धा गरेका थिए । टेस्ट इतिहासमा पहिलोपटक ११ हजार रन कटाउने उनी पहिलो खेलाडी बनेका थिए । उनले २३२ इनिङ्समा ११ हजार ९५३ टेस्ट रन बनाए । एकदिवसीयमा उनको नाममा १० हजार ४०५ रन छ । सन् २००४ मा लाराले टेस्टको एकै इनिङ्समा चार सय रनको नटआउट इनिङ्स खेलेका थिए । जुन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । यसैगरी सन् १९९४ मा पहिलो श्रेणीमा उनले विश्व रेकर्डका रूपमा ५०१ रनको नटआउट इनिङ्स खेलेका थिए । उनले इंग्ल्यान्डविरुद्ध सन् २००७ मा अन्तिमपटक वेस्ट इन्डिजबाट एकदिवसीय खेल खेलेका थिए ।