पार्टी खोल्न डराएको छैन : भीम रावल
अहिलेको मातृभूमि जागरण अभियान, भविष्यको सशक्त देशभक्तिपूर्ण संगठनको आधार हुनेछ
१७ पुस, काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावलले आफू पार्टी खोल्नबाट नडराएको दाबी गरेका छन् ।
एमालेबाट निष्कासित भएपछि आज पत्रकार सम्मेलन गर्दै रावलको जनतालाई सर्वोपरि राखेर आफूले काम गरेको बताएका हुन्।
उनले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् यस्तो बताएका हुन् ।
उनले निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएपनि प्रतिनिधि सभाको टिकट प्राप्त नभएको गुनासो गरे। उनले आफूलाई पछिल्लो समय जिम्मेवारी विहीन बनाइएको र पार्टीमा स्थान नदिएको उल्लेख गरे। आफ्नो व्यक्तिगत स्वार्थ नरहेको बताउँदै देश र जनताको पक्षमा निरन्तर खट्ने उनको भनाई छ।
उनले ठूला भनिएका दलहरू सिद्धान्तहीन बाटोमा लागेको आरोप लगाए। पूर्वउपप्रधान एवम् रक्षामन्त्रीसमेत बनेका रावलले भने, ‘ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेका छन्। पद हत्याउने होड चलिरहेको छ।’ उनले कतिपय भ्रष्टाचार काण्डमा ठूलालाई जोगाइएको दाबी गरे।
‘आज यहाँ पार्टी घोषणा हुन्छ होला भन्ने सुनिएको थियो, किन डराउनुभएको?,’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘डराएको होइन । अहिलेको मातृभूमि जागरण अभियान, भविष्यको सशक्त देशभक्तिपूर्ण संगठनको आधार हुनेछ ।’
रावलले पत्रकार सम्मेलनमार्फत मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्ने रावलले बताएका छन् ।उनले त्यसबारे थप प्रष्ट पार्दै भने, ‘जनताको बीचमा गइसकेपछि म यस्तो संकलपको साथ किन अघि बढेँ भन्ने प्रष्ट पार्न खोजेको हुँ ।’