राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
यो विधेयक पारित भई कानुनका रूपमा आए पछि समुद्रहरूमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनको ढोका खुल्ने छ

२४ माघ, काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा राष्ट्रिय सभामा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेश भएको छ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस गरेका हुन् ।
विधेयक पेश गर्ने क्रममा मन्त्री दाहालले सामुद्रिक कानून सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी, १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभई भुपरिवेष्ठित मुलुकको समेत समान अधिकार सुनिश्चित भए तापनि पानी जहाज दर्ता ऐन, २०२७ लागु भएपश्चात दर्जनौं अन्तर्राष्ट्रिय महासन्धीहरू लागू भई सकेको र ती महासन्धीहरूका प्रावधानहरू उक्त ऐनले नसमेट्ने हुँदा नेपाली ध्वजावाहक पानीजहाज दर्ता गर्न सकिने अवस्था नदेखिएको उल्लेख गरे।
समुद्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालनका अतिरक्त कैयौं नेपालीहरू विभिन्न मुलुकका पानीजहाजहरूमा काम गर्दै आएको अवस्थामा ती नेपालीहरूलाई नाविक किताब, नाविक परिचय पत्र लगायत ती कामदारहरूको तालिम, स्वास्थ्य परीक्षण लगायतका विषयहरू समेट्न आवश्यक देखिएको तथा नेपाल भित्रकै विभिन्न नदी तथा तालहरूमा विभिन्न क्षमताका जलयानहरू सञ्चालनमा आई रहेको अवस्थामा ती जलयानहरूको दर्ता तथा नियमनको व्यवस्था गर्दै आन्तरिक जलयातायातलाई प्रवर्द्धन गर्न आवश्यक देखिएकाले विधेयक पेश गरिएको उनले बताए।
यो विधेयक पारित भई कानुनका रूपमा आए पछि समुद्रहरूमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनको ढोका खुल्ने छ। यस्तै नेपाल भित्रका नदी तथा जलाशयहरूमा सञ्चालन हुने जलयान तथा पानी जहाजहरू नियमन र व्यवस्थापनका लागि समेत कानुनी आधार तयार हुने छ।