हवाई भाडा बढी लिनेलाई कारबाही गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता
२ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
मन्त्री पाण्डले उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने बताएका छन् ।
गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।
सो बिषयमा मन्त्री पाण्डेले भने ‘उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण मूल्यमा मात्रै टिकटको भाडा लिनुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । त्यो विपरीत उहाँहरु जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छौं ।’
उहाँले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए ।
मन्त्री पाण्डेले हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महँगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको जानकारी दिए । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने कुरा स्पष्ट पार्न समेत क्यानलाई निर्देशन दिएको मन्त्री पाण्डेले बताए । पाण्डेले अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताएका छन् ।