काठमाडौंमा वडा अध्यक्षको सहकारी, बचत रकम मनलाग्दी अपचलन


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष मचाराजा महर्जनले प्रदेश सहकारी ऐन २०७६ को दफा ३७ (९) को व्यवस्था बिपरित सहकारी सञ्चालन गरेका छन् ।
महानगरपालिका सहकारी विभागले गरेको अनुगमनका क्रममा महर्जनले काठमाडौं महानगरपालिका वडा न. १८ मा महागुथी बहुउद्देश्यीय सहकारी संस्था सन्चालन गरेको पाइएको छ ।
तेतिमात्र नभइ महर्जनले उक्त सहकारीमा बचतकर्ताको बचत रकम अपचलन गरेको अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महानगरको सहकारी विभागले २०८० चैत १८ गते काठमाडौं महानगरवपालिका–१८ नरदेवीमा रहेको महागुथी बहुउद्देश्यीय सहकारी संस्थाको अनुगमन गरेको हो ।
सहकारी ऐन, २०७४ को दफा ५० (२) मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न नपाउने व्यवस्था गरेको छ । तर महागुथी बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको मुख्य कारोबारमात्र गर्दै आएको देखियो छ जुन अबैधानिक हो ।
बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ३७ (९) सङ्घीय मन्त्री, जिल्ला समन्यव समितिका प्रमुख र उपप्रमुख, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदमा रहेको व्यक्ति सहकारी संस्थाको संचालक समिति वा लेखा सुपरिवेक्षण समितिमा निर्वाचित वा मनोनित भए ऐन प्रारम्भ भएपछि तत्काल राजीनामा दिनुपर्ने व्यवस्था रहेको रहेको छ ।
तर, उक्त सहकारीमा संस्थाका संचालक समितिका अध्यक्ष मचाराजा महर्जन काठमाडौं महानगरपालिका–२३ का निर्वाचित वडा अध्यक्ष समेत हुन् । हाल उनी वडा अध्यक्ष तथा सहकारीमा अध्यक्ष रहेका छन् ।
विभागले अनुगमनका क्रममा यस्तो भेटेपछि वडा अध्यक्ष मचाराजा महर्जनलाई तुरुन्तै सहकारी संस्थाको अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएको छ । अनुगमनका क्रममा उक्त सहकारिको आव २०७८–७९ मा कोषको रकम १९ लाख ३७ हजार १२६ रुपैयाँ २०८० असार ३१ गतेसम्म सम्ममा जगेडा कोषमा सार्नुपर्नेमा नसारेको पाएको छ ।
सहकारीले व्यक्ति हेरेर कर्जामा हर्जना छुट दिने तथा कम ब्याजदरमा कर्जा लगानी गर्ने गरेको पाइएको छ । उक्त सहकारीको अनुगमनका क्रममा बाँकी मौज्दात रहेका कर्जामध्ये केही कर्जा प्रवाह गर्दा सीमाभन्दा बढी लगानी गरेको पाइएको छ । सहकारीले १३ जना ऋणाीलाई १४ करोड ३६ लाख १३ हजार रुपैयाँ कर्जा दिएको थियो । जसको ब्याजदर ८ देखि १४.७५ प्रतिशतसम्म रहेको थियो ।
सहकारीले व्यक्ति हेरेर कर्जामा हर्जना छुट दिने तथा कम ब्याजदरमा कर्जा लगानी गर्ने गरेको पाइएको छ । बचतको व्याजदर भन्दापनि कम दरमा सञ्चालक समिति सदस्य एकाघरका परिवारलाई कर्जा लगानी गरेको देखिएको छ ।
कम कर्जा नोक्सानी ब्यबस्था गरी घाटामा रहेको सहकारीले बचतलाई करिब १८ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिएको छ ।
संस्थाले कर्जा नोक्सानी व्यवस्था चुस्त दुरुस्त तवरले लेखांकन गर्नुपर्ने देखिन्छ । गलत तरिकाले लेखांकन राखी बचतबाट लाभांश वितरण गर्दा बचतकर्तालाई मार पर्ने हुदा नियमसंगत लेखांकन राख्नुपर्ने सुझाव समितिले दिएको छ ।
सहकारीका वडा अध्यक्ष तथा सहकारी संस्थाका पनि अध्यक्ष मचाराजा महर्जनलाई ८.५ प्रतिशत ब्याजदरमा ५ लाख र उनको श्रीमती अनिता महर्जनलाई सोही ब्याजदरमा सेवा शुल्क नलिई ४५ लाख कर्जा दिएको पाइयो जुन नियम बिपरित छ ।
सहकारीले संस्थाका सचिव बाबुराज महार्जनलाई ८.५० प्रतिशत ब्याजदरमा १० लाख ५० हजार, सञ्चालक समिति सदस्यद गम्भीरमान महर्जनलाई ५ लाख ८.५० प्रतिशत ब्याजदर र अर्को ५ लाख १२ प्रतिशत ब्याजदरमा कर्जा दिएको छ ।
यस्तै सञ्चालक गोबिन्द महर्जनलाई १४ प्रतिशत ब्याजदरमा २५ लाख ५ हजार, लेखा समिति संयोजक रेनुका डंगोल बासुकलालाई १२ प्रतिशत ब्याजदरमा १ करोड ७० लाख दिएको छ ।
सहकारीले सञ्चालक गोविन्द महर्जनका छोरा आशिष महर्जनलाई १२ प्रतिशत ब्याजदरमा १६ लाख १९ हजार ८२२ र लेखा संयोजकका छोरा विभाष बासुकलालाई ८.५ प्रतिशत ब्याजदरमा ४४ लाख ९९ हजार ९९९ रुपैयाँमा कर्जा दिएको छ । यो सबैको तिर्न बाँकी कर्जा हो ।


संस्थाले साधारण सभाको निर्णय पश्चातमात्र ऋणीलाई ब्याज तथा हर्जना छुट गर्नुपर्नेमा आव २०८० असार मसान्तमा संस्थाको संचालक समितिले निर्णय गरी १२ जना ऋणीलाई १८ लाख ७१ हजार ७०६ रुपैयाँ ऋणीहरुलाई हर्जाना तथा ब्याज छुट दिएको छ । नियम विपरित गरेको छुटमा सञ्चालक समितिलाई जिम्मेवार गराउने समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *