सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
शिक्षा मन्त्रालय स्रोतका अनुसार वार्ता तीन बजेपछि हुने छ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले नै गर्ने छन् ।

१२ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई आज नै वार्तामा बोलाएको थियो ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार वार्ता तीन बजेपछि हुने छ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले नै गर्ने छन् ।
‘सरकारको तर्फबाट वार्ता कमिटी बनेको छैन । मन्त्रीज्यूले नै वार्ताको नेतृत्व गर्नुहुनेछ,’ मन्त्रालय स्रोतले भन्यो ।
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । ‘नवनियुक्त मन्त्रीज्यूले बोलाउनु भएको छ । एकछिनमा हामी मन्त्रालयमा जान्छौं,’ महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
तर उनले यसलाई वार्ता भन्न चाहिनन् । नवनियुक्त मन्त्रीले बोलाएकाले जान लागेको उनले बताइन् ।
आजै शिक्षा मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह पनि गरेका थिए । संसद भवन परिसमा पत्रकारसँग उनले कानुन र बजेटले भ्याउनेसम्मको माग पूरा गर्ने बताएका छन् ।
‘सरकार वार्ता र संवादको माध्यमबाट अहिले देखिएको समस्या समाधान गर्न प्रतिबद्ध छ । शिक्षक साथीहरूलाई लचिलो भएर आउन आग्रह गर्दछु,’ उनले भने, ‘ऐन कानुनको सिमा र बजेटले धान्ने सिमाभित्र रहेर समाधान खोज्न तयार छौँ ।’
यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो ।
शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन् ।