भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल : आतंकवादविरुद्धको लडाईंमा साथ दिने
बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो ।

२५ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सधैं साथ दिने बताएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई अपिल गरेको छ ।
‘२२ अप्रिल २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि नेपाल सरकार भारत र पाकिस्तानबीच बढ्दो तनाव प्रति गहिरो चिन्तित छ । यस आक्रमणमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य जीवन गुमाएका थिए,’ परराष्ट्रले भनेको छ, ‘यस दुःखद समयमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका थिए । नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अडान अनुरूप बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको थियो ।’
परराष्ट्रले दुई छिमेकी देशबीच बढ्दो तनाव कम हुने र यस क्षेत्रमा शान्ति बहाल रहनेमा आशावादी रहेको जनाएको छ । भारतले पाकिस्तानमा गरेको मिसाइल आक्रमणबारे स्पष्ट उल्लेख नगरे पनि नेपाल सरकारले घटनाको झन्डै दुई दिनपछि आफ्नो धारणा दिएको हो ।