बेटिङ एपमार्फत ५५ करोड बराबरको जुवा खेलाएको आरोपमा एक युवक पक्राउ
उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।
१२ मंसिर, काठमाडौं । एक युवक ५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका ३७ वर्षीय सुनिल राई पक्राउ परेका छन् ।
बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
साथै उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।
ललितपुरबाट पक्राउ परेका राईले ७५ वटा बैंक खाता र १२८ वटा ई–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोप छ ।
राईविरुद्ध जुवा खेल्न नहुने कसुर, अभौतिक मुद्राको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।