गभर्नर नियुक्ति : देउवामाथि दबाब बढाउँदै ओली

कांग्रेसले गभर्नरका लागि डा.विश्व पौडेललाई अगाडि बढाएको छ ।

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दैनिक कार्य तालिकामा सोमबार साँझ मन्त्रिपरिषद् बैठक राखेका थिए । प्रधानमन्त्रीको तालिकामा मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि मन्त्रीहरूलाई जानकारी भने दिइएको थिएन ।

यद्यपि जुनसुकै बेला मन्त्रिपरिषद् बस्ने खबर आउन सक्ने भएकाले मन्त्रीहरू सतर्क थिए । तर, साँझसम्म मन्त्रिपरिषद् बैठकको खबर मन्त्रीहरूसम्म पुगेन ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका थिए । स्रोतका अनुसार, मन्त्रिपरिषद् बैठक रोकेर सभापति देउवासँग भेटवार्ता तय गरिनुको प्रयोजन नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिबारे छलफल थियो ।

तर सभापति देउवा ओलीसँग भेटवार्ताका निम्ति बालुवाटार गएनन् । यसपछि प्रधानमन्त्रीको स्वास्थ्यलाई कारण देखाएर साँझका कार्यक्रमहरू स्थगित गरिएको सूचना प्रचार गरियो ।

कांग्रेसले गभर्नरका लागि डा.विश्व पौडेललाई अगाडि बढाएको छ । यसबारे सभापति देउवाले नेताहरूसँग छलफल पनि गरिसकेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकबाट पौडेल गभर्नर नियुक्त हुने नेताहरूले विश्वास गरेका थिए ।

जसका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक, पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा.पोषराज पाण्डे सदस्य रहेको सिफारिस समितिले नाम सिफारिस गर्नुपथ्र्यो । कांग्रेस कोटाबाट गभर्नर बन्ने निश्चित भएरै पौडेलले कांग्रेससँगको आबद्धताबाट अलग भएको राजीनामापत्र पनि लेखिसकेका छन् ।

तर सोमबार न सिफारिस समितिको बैठक बस्यो, न मन्त्रिपरिषद् बैठक । बरु प्रधानमन्त्री ओलीले सभापति देउवासँग गभर्नर नियुक्तिबारे भेटवार्ता गर्ने सूचना सार्वजनिक भयो । प्रधानमन्त्री ओलीको यस्तो निर्णयबाट कांग्रेस नेताहरू सशंकित देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *