युनुस अन्सारीबारे सीआईबीः नेसनल टिभीको स्थापना नै गैरकानूनी रकमबाट
अन्सारीविरुद्ध नौ करोड नौ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।
२३ असार, काठमाडौं । पटकपटक नक्कली भारतीय नोट कारोबारमा संलग्न रहेको आरोप लाग्ने गरेका युनुस अन्सारीले १८ वर्षअघि खोलेको नेसनल टेलिभिजनको लगानी नै अवैध भएको निष्कर्ष प्रहरीले निकालेको छ ।
अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको आरोपमा अनुसन्धान गरेको प्रहरीले टेलिभिजनमा गरेको ५ करोड २५ लाख रुपैयाँ लगानी नै अपराधबाट सिर्जित रकम भएको निष्कर्ष निकालेको हो ।
गत शुक्रबार नेशनल टेलिभिजन प्रालिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । अन्सारीविरुद्ध नौ करोड नौ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।
अन्सारीले भारतीय जाली नोटसमेतको कसुर गरी प्राप्त गैरकानुनी स्रोतबाट प्राप्त रकम धारण गरी लुकाउने, छल्ने र स्वामित्व परिवर्तन गर्ने काम गरेको अभियोग छ । त्यस्तै, उनकी श्रीमती सालमा खातुनसहित बाराका प्रमिला अधिकारी र शुभेश्वरप्रसाद कुशवाहलाई पनि प्रतिवादी बनाइएको छ ।
जेलबाट छुटेलगत्तै अन्सारीलाई नियन्त्रणमा लिएर सिआइबीले अनुसन्धान गरेको थियो । उनको र टेलिभिजनको खातामा आएको पैसाको विश्लेषण गरी सिआइबीले अपराधिक कामबाट उनले सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको हो । उनी पक्राउ परेसँगै उनको टेलिभिजन भने बन्द भइसकेको छ । आइतबार जिल्ला अदालतमा उनको थुनछेक बहस हुँदैछ ।
अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो । अन्सारीमाथि २०६७ सालमा जेलभित्रै गोली प्रहार समेत भएको थियो।