बर्थडे केक काट्दै थिए चक्रे मिलन, पक्राउ परे
अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो ।
१६ साउन, काठमाडौं । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।
बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदिप चन्दले राति गुण्डागर्दी पृष्ठभूमिका केही व्यक्तिहरु पक्राउ परेको पुष्टि गरे पनि विस्तृतमा बताएनन् । ‘राति प्रहरीले त्यससम्बन्धी अपरेशन चलाएको थियो, तर संख्याबारे अहिल्यै भन्न सकिएन’, उनले भने ।
अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो । यसको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।
मध्यरातिसम्म उनको समूहले होटलमा बसेर होहल्ला गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि काठमाडौं प्रहरीका एसएसपी विश्व अधिकारीले माथिल्लो तहसम्म कुरा गरे । र, सार्वजनिक स्थानमा हल्लाखल्ला गरेको आरोपमा चक्रे मिलन पक्राउ परे । उनीसँगै जन्मदिन पार्टी मनाउन पुगेका करिब ५० जना ‘आपराधिक पृष्ठभूमि’का व्यक्तिहरु पनि पक्राउ परे ।
तर, उनीहरुविरुद्ध के कसुरमा प्रहरीले मुद्दा चलाउँछ भन्ने टुंगो लागेको छैन ।