ऐलानी जग्गा विवादमा रामएकवालमाथि कोदालो प्रहार, ७ जनाविरुद्ध उजुरी
प्रहरीले दुई लाख रुपैयाँ प्रतिवादीहरूसँग उठाएर उपचारमा सहयोग गर्ने भनेको थियो तर हालसम्म दिएन ।
१६ साउन, जनकपुरधाम । बारामा ऐलानी जग्गा विवादमा घेरा हालेर एक व्यक्तिमाथि कोदालो प्रहार गरी ज्यान मार्न खोजेको दावीसहित ७ जनाविरुद्ध उजुरी परेको छ । बाराको बारागढी गाउँपालिका ३ सुन्दरपुरका ४० नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानसमेतले ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन् ।
बारागढी गाउँपालिका ३ नयका टोलका ४७ वर्षीय बिहारी पण्डित, ४० वर्षीय गोरख पण्डित, ६० वर्षीय ओकिल मिया, ३० वर्षीय जमिल अखतर मिया, ४१ वर्षीय शिवचन्द्र यादव, ३० वर्षीय सलाउदिन मिया र २५ वर्षीय अलाउदिन मियाविरुद्ध जाहेरी परेको हो ।
विवादको क्रममा शिवचन्द्र यादवले रामएकवालको टाउकोमा कोदालो प्रहार गरी ज्यान लिन खोजेको जाहेरीमा उल्लेख छ । त्यस क्रममा रामएकवालका छोरा दिपेन्द्र चौधरीसमेत घाइते भएका छन् ।
रामएकवाल गम्भीर घाइते भई हाल काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत छन् । उनका दाजु चन्देश्वर चौधरीका अनुसार आर्थिक अभावका कारण औषधि किन्नसमेत समस्या भइरहेको छ ।
‘प्रहरीले दुई लाख रुपैयाँ प्रतिवादीहरूसँग उठाएर उपचारमा सहयोग गर्ने भनेको थियो तर हालसम्म दिएन । यति गम्भीर घटनामा संलग्न प्रतिवादीहरू खुलेआम हिँडिरहेका छन्, तर कसैलाई पक्राउ गरिएको छैन,’ चन्देश्वरको गुनासो छ ।
बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले भने यसबारे अनभिज्ञता जनाएका छन् ।