कीर्ते हस्ताक्षर गरेर विद्यालयको २९ लाख झिकेको आरोपमा प्रधानाध्यापक पक्राउ
अनुदानबाट ४ कोठे भवन निर्माणका लागि ४७ लाख रुपैयाँ निकास भएको थियो
१८ मंसिर, काठमाडौं । आधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीले कीर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले प्रधानाध्यापक किशोरी चौधरीलाई कीर्ते हस्ताक्षर गरी विद्यालयको बैंक खातामा रोक्का रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ ।
रौतहटका डीएसपी दीपककुमार रायले पक्राउ परेका चौधरीविरुद्ध लिखतसम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको बताए । काम भएपछि रकम नियमानुसार भुक्तानी पाउने गरी रोक्का गरिएको थियो । नगरपालिकाको आर्थिक वर्ष २०८० ८१ को विशेष अनुदानबाट ४ कोठे भवन निर्माणका लागि ४७ लाख ७५ हजार ५१२ रुपैयाँ निकास भएको थियो । ब्रह्म बाबा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिइएको थियो ।
काम भएपछि रकम नियमानुसार भुक्तानी पाउने गरी रोक्का गरिएको थियो ।
पहिलो रनिङ बिल भरपाइको आधारमा नगरपालिकाको पत्रद्वारा २० लाख १० हजार ५२९ रुपैयाँ ब्रह्म बाबाले पाउने गरी रकम फुकुवा गरिएको थियो ।
प्रधानाध्यापक चौधरीले उक्त रकम निकालेपछि पत्रहरूमा कीर्ते हस्ताक्षर गरी बाँकी रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोप छ ।