त्रिभुवन विश्वविद्यालयको जग्गा हिनाहिनामा पदाधिकारी नै जिम्मेवार रहेको ठहर
त्रिविका पदाधिकारी नै जग्गा हिनामिनामा जिम्मेवार रहेको छानबिन समितिको ठहर छ ।
२३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा हिनामिना भएको पाइएको ।
त्रिविका पदाधिकारी नै जग्गा हिनामिनामा जिम्मेवार रहेको छानबिन समितिको ठहर छ ।
३ हजार ७ सय रोपनी जग्गामा १ हजार रोपनी जग्गा विभिन्न संघ संस्थाले प्रयोग गरिरहेको पत्ता लगाएको हो ।
खोजबिनमा संलग्न एक सदस्यले ‘जग्गा संघ संस्थालाई बाँडेको फेला परेको छ । त्रिविको १ हजार रोपनी जग्गा मिचिएको पनि देखिन्छ,’ भने ।
संघ संस्थालाई जग्गा बाँड्न त्रिविकै पदाधिकारी संलग्न भएको र उनीहरुमाथि थप अनुसन्धान गरी कारबाही गर्न समितिले सुझाव दिएको छ ।
पुल्चोक र मिनभवनमा रहेको त्रिविको जग्गा पनि हिनामिना भएको समितिको निष्कर्ष छ । काठमाडौं बाहिर पनि धेरै ठाउँमा त्रिविको जग्गा अतिक्रमण भएको निष्कर्ष निकालेको खोजबिन समितिले समय अभावका कारण उपत्यका बाहिरको जग्गामा अझै अध्ययन आवश्यक रहेको औंल्याएको छ ।
६ महिनाको समयमा सबै ठाउँमा पुग्न गाह्रो भएकाले थप अध्ययनको आवश्यक रहेको खोजबिन समितिको भनाइ छ ।
सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो । समिति सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए ।
समितिलाई त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्ति खोजी गरी प्रतिवेदन पेस गर्न भनिएको थियो ।