भाटभटेनी आगलागीमा जलेको अवस्थामा एक जनाको शव फेला

दोस्रो तलामा टाउको मात्र भेटिएको र शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

सुनसरी : भदौ २४ गते धरानको भाटभटेनी सुपरमार्केटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकको शरीर पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको हो। दोस्रो तलामा टाउको मात्र भेटिएको र शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भानुचोकमा जेनजी समूहको आन्दोलन सकिए लगत्तै केही व्यक्तिहरू लुटपाट गर्ने उद्देश्यले भाटभटेनी प्रवेश गरेका थिए। बन्द अवस्थामा रहेको सुपरमार्केटमा आगो लगाएपछि ती व्यक्तिमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

आगलागी नियन्त्रणका लागि दमकल र सुरक्षाकर्मी परिचालन गरिएको छ। यद्यपि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन अझै बाँकी रहेको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए। आगलागीबाट ठूलो मात्रामा क्षति भएको अनुमान गरिएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र आगलागीको विस्तृत कारणबारे अनुसन्धान सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *