सप्तकोसीमा खतरा : पानीको बहाव यस वर्षकै उच्च
पानीको बहाब बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको उनले जानकारी दिए।
सुनसरी : लगातारको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब वर्षकै उच्चस्तरमा पुगेको छ। पहाडी जिल्लामा परेको मुसलधारे वर्षाको प्रभावले सप्तकोसीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको हो।
सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेका अनुसार सप्तकोसीमा पानीको बहाब शनिबार बिहानसम्म प्रतिसेकेन्ड ३ लाख ३० हजार ३६० क्युसेक पुगेको छ, जुन यो वर्षको सबैभन्दा उच्च मापन हो। पानीको बहाब बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको उनले जानकारी दिए।
उच्च सतर्कताका लागि ब्यारेजमा रातो बत्ती बालिएको छ। सामान्यतया सप्तकोसीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेकभन्दा बढी पानीको बहाब खतराको तह मानिने भएकाले अहिलेको अवस्था अत्यन्त संवेदनशील रहेको अधिकारीहरूले बताएका छन्।
सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। “सप्तकोसी आसपासका बस्तीहरूलाई सतर्क रहन निर्देशन दिइएको छ,” उनले भने।
स्थानीय प्रशासनले कोशी ब्यारेजदेखि चतरा, पश्चिम कुशाहा र दक्षिणी तटबन्ध क्षेत्रका बासिन्दालाई आवश्यक सावधान अपनाउन अनुरोध गरेको छ।
अविरल वर्षा जारी रहेकाले सप्तकोसीको जलस्तर अझ बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रशासनले आकस्मिक परिस्थितिको सामना गर्न उद्धार टोली र राहत सामग्री तयारी अवस्थामा राखेको जनाएको छ।