द हिन्दुका अनुसार, सेन्टरका इन्चार्ज डा. अनुराग धाकडका अनुसार न्युरोसर्जरी आइसीयूमा ११ जना गम्भीर बिरामीको उपचार भइरहेको थियो, भने सोही तलामा अर्को आइसीयूमा १४ जना बिरामी भर्ना भएका थिए।
न्यूरो आइसीयूमा रहेका दुई महिला र चार पुरुष गरी ६ जनाको मृत्यु भएको हो। बाँकी बिरामीहरूलाई सुरक्षाकर्मी र कर्मचारीहरूले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।
धुवाँ अत्यधिक फैलिएको कारण अस्पतालमा हताशा र त्रास फैलिएको थियो। स्वास्थ्यकर्मी र बिरामीका आफन्तहरूले बेडसहित बिरामीहरूलाई भवनबाहिर निकालेका थिए।
दमकलका गाडी घटनास्थलमा पुगेपछि विपरीत दिशाबाट झ्याल तोडेर आगो निभाउने काम सुरु भयो। करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। बाक्लो धुवाँका कारण सुरुवाती समयमा प्रहरी भवनभित्र प्रवेश गर्न सकेका थिएनन्।
मृतकका आफन्तहरूले सोमबार अस्पताल बाहिर प्रदर्शन गर्दै प्रशासन र राज्य सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले अस्पतालमा लापरबाही भएको र आगो निभाउने कुनै उपकरण नहुँदा दुर्घटना भएको आरोप लगाए।