हमासले सार्वजनिक गरेको सूचीमा परेनन् विपिन जोशी
इजरायल र हमासबीच सहमति भएको युद्धविरामको पहिलो चरणमा गाजामा रहेका सबै बन्धकहरू सोमबारसम्ममा रिहा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
काठमाडौं : इजरायल र हमासबीच युद्ध विरामपछि सार्वजनिक बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात देखाइएको छ। हमासले २० जना जीवित, २६ जना मृत र २ जना अज्ञात गरी ४८ जना बन्धकको नाम सार्वजनिक गरेको हो। जसमा विपिन र अर्का एकजनाको अवस्था स्पष्ट खुलाइएको छैन।
बुधबार बेलुका सार्वजनिक गरिएको जोशीको भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ। जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखाइएको छ। २०२३ अक्टोबरमा इजरायलमा अध्ययनरत जोशीलाई एक अज्ञात किब्बुत्जबाट जबरजस्ती अपहरण गरिएको थियो। सो दिन उनका १० जना साथीहरू मारिएका थिए।
इजरायल र हमासबीच सहमति भएको युद्धविरामको पहिलो चरणमा गाजामा रहेका सबै बन्धकहरू सोमबारसम्ममा रिहा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
हमासले इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजामा लगेको दुई वर्षभन्दा बढी भइसकेको छ। ४८ जना बन्धक गाजामै छन्। तीमध्ये २६ जनाको मृत्यु भइसकेको इजरायली सरकारले घोषणा गरेको छ।
जीवित भनिएका बन्धकहरू सबै पुरूष हुन्। एकजनाबाहेक सबै २० देखि ३० वर्ष उमेर समूहका छन्। महिला,बालबालिका र ५० वर्षभन्दा माथिका पुरूषहरूलाई अघिल्ला युद्धविराम सम्झौताअन्तर्गत मुक्त गरिएको थियो।