धवलशम्शेरले बोलाए राप्रपाको असन्तुष्ट पक्षको बैठक

राणानिकट एक केन्द्रीय सदस्यका अनुसार छलफलका लागि मुख्य गरी चार एजेन्डा तय गरिएको छ।

२६ असोज, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक बोलाएका छन्।

राणाले सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आइतबार दिउँसो १२:३० बजे बस्ने गरी बैठक बोलाएका हुन्।

राणानिकट एक केन्द्रीय सदस्यका अनुसार छलफलका लागि मुख्य गरी चार एजेन्डा तय गरिएको छ। नियमित महाधिवशेनका लागि दबाब बढाउने र नियमित हुन नसके विशेष महाधिवेशन गर्न दबाब बढाउन असन्तुष्ट पक्षको बैठक बोलाइएको ती नेताले जानकारी दिए।

राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ। असन्तुष्ट पक्षको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको पुनर्बहालीको विषयमा पनि छलफल हुनेछ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजक रहेका नवराज सुवेदीको स्थानमा रोशन कार्की मनोनीत गरेका थिए। उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावती, केन्द्रीय नेता धनसुर शाही लगायतलाई पदमुक्त गरेका थिए। पदमुक्त गरेको विषयले पार्टी दुई कित्तामा विभक्त भएको छ। उक्त प्रकरण निर्वाचन आयोग समेत पुगेको छ।

राणाले बोलाएको बैठकमा केन्द्रीय समिति बैठक आह्वान गर्न अध्यक्ष लिङदेनलाई दबाब दिने उद्देश्य समेत रहेको असन्तुष्ट पक्षले जनाएको छ। तीन–तीन महिनामा बोलाउनुपर्ने केन्द्रीय समितिको बैठक माघदेखि बस्न सकेको छैन।

यस्तै, जेन–जी आन्दोलनपछि पार्टी मुकदर्शक भएको विषय पनि बैठकको एजेन्डाका रुपमा रहेको छ।

नेताहरूलाई कारबाही गरेपछि राप्रपामा दुई पक्षको दूरी बढेको छ। दुवै पक्षले छुट्टाछुट्टै बैठक बोलाउन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *