पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, ८ करोड ५५ लाख बिगो माग

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र सजायको माग गरिएको छ।

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र सजायको माग गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले  उनलाई ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न आइतबार ललितपुरबाट नियन्त्रणमा लिएको थियो।

सोही मुद्दामा केही दिनअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनको बयान लिएको थियो।

सुन तस्करी प्रकरणमा महरा २०८० साल चैत्र ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि  सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतामा छोडेको थियो।

‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *