नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोप


२४ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीविरुद्ध पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा मुद्दा दायर भएको हो ।

२४ फागुन २०३२ मा उनले नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपी लिँदा २२ कात्तिक २०१६ साल भनी जन्म मिति उल्लेख गरेका थिए ।

तर निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन, २०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्म मिति उल्लेख थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन २०७३ मा अवकाश लिएका थिए ।

पछि उनी बीमा समितिको अध्यक्षमा नियुक्त भए । त्यतिबेला सार्ववजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार राजनीतिक नियुक्ति र मनोनयनमा सार्वजनिक पदमा पुगेको व्यक्ति ६५ वर्ष पूरा भएका व्यक्ति अवकाश हुनुपर्ने व्यवस्था थियो ।

तर,१५ साउन २०८० मा अवकाश पाउनुपर्ने सिलवालले पछि भने आफ्नो जन्म मितिबारे फरक दाबी गरे । २४ कात्तिक २०१८ मा आफ्नो जन्म मिति रहेको दाबी गर्दै उनले ६५ वर्षपछि समेत पदमा बहाल रहेको भन्दै अख्तियारले प्रश्न उठाएको हो ।

उनीविरुद्ध उमेर ढाँटेर पदमा बसेको र त्यसबाट व्यक्तिगत लाभ लिएको भनी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले १५ साउन २०८० पछि उनले लिएको पारिश्रमिक बापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानी मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *