प्रचण्डले फेरि उठाए नागरिक फौज बनाउने एजेन्डा

जनयुद्ध र शान्ति प्रक्रियामा आएपछि तत्कालिन माओवादीले नागरिकलाई सैनिक तालिम दिने विषयअघि सारेको थियो ।

१५ मंसिर, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र राष्ट्रियताको रक्षका लागि नागरिक तहबाटै राष्ट्रिय फौज बनाउनुपर्ने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी नेकपाले विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले राष्ट्रको रक्षका लागि राष्ट्रीय फौज बनाउनु पर्ने बताएका हुन् ।

जनयुद्ध र शान्ति प्रक्रियामा आएपछि तत्कालिन माओवादीले नागरिकलाई सैनिक तालिम दिने विषयअघि सारेको थियो । तर, यो मुद्दामा त्यसबेला माओवादी ब्याक भयो । जेनजी आन्दोलनपछि प्रचण्डले नागरिक फौज बनाउने विषय उठाएका हुन् ।

राष्ट्रको  रक्षा सुरक्षा सम्यन्त्रले मात्रै गर्न नसक्ने बताउँदै उनले तीन करोड नेपालीको फौज बनाउनु पर्ने बताए ।

‘सेना प्रहरीले मात्रै पुग्दो रैनरछ, साम्यवादीहरूसँग लड्न मिसाइल बनाउन सक्ने एटोमिक इनर्जी पैदा गर्न सक्ने तागत हामीसँग छैन,’ उनले भने,‘ विदेशीहरूले गर्ने चलखेल र हस्तक्षेपलाई फौजी रुपले र अत्याधुनिक हतियारद्धारा लडाइँ लडेर उनीहरुलाई पछार्न सक्ने परिस्थिति हाम्रो छैन ।’

नागरिकलाई नै फौज बनाउनु पर्ने उनको भनाइ छ ।

‘हामीसँग ३ करोड नेपालीको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ, यदी तीन करोड नेपाली नै देशका लागि जरुरी पर्दा मर्न तयार हुने हो दुनियाँको कुनै तागतले नेपाललाई हराउन सक्दैनँ,’ उनले भने, ‘हामी सबै राष्ट्रको निम्ति देशको स्वतन्त्रता र स्वाधिनताका निम्ति, नेपाली जनताको आत्मसम्मानका निम्ति एउटा नयाँ राष्ट्रिय फौज, सम्पूर्ण जनता नै फौज बन्ने प्रतिबद्धता र संकल्पन नगर्ने हो भने, जरुरी परे नेपाली सेना, सेक्युरेटी फोर्ससँग मिलेर सम्पूर्ण जनता राष्ट्रका निम्ति लड्न तयार नहुने हो भने हामीले बचाउन सकिँदैन ।’

जनताको तागतले मात्रै साम्राज्यवादी क्रान्तिलाई पराजित गर्न सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *