सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएपछि सुनसरीमा तनाव
घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विराटनगर- सुनसरीको सीमावर्ती क्षेत्रमा भएको गोलीकाण्डमा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ। घटना सशस्त्र प्रहरीको बेस क्याम्प बीओपी लौकही नजिकै रहेको पुरी टोलमा भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार नेपाल–भारत सीमा नजिक सिटी सफारीमार्फत सामान ल्याउने क्रममा चालकलाई लक्षित गरी गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। गोली लागेर गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक रिपोर्टका आधारमा गोली सशस्त्र प्रहरीको तर्फबाट चलेको आशंका गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयबासी र मृतकका आफन्तले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन सुरु गरेका छन्। स्थिति तनावग्रस्त बनेपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिई सुरक्षा सतर्कता बढाएका छन्।
प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याएर गोली कसले र किन चलायो भन्ने विषयमा गहिरो छानबिन भइरहेको जनाएको छ।