लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा :सहकारी प्रकरण
सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाएको छ
२८ मंसिर, काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।
लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाएको छ ।
सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह,सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ ।
धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर,सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ ।