सई यादवको हत्यामा ५ जनाको संलग्नता,अनुसन्धान सुरु

गाडी भारतीय नम्बर प्लेटेको रहेको खुलेपछि घटनामा संलग्नहरुको पहिचान गर्न प्रहरी सफल भएको हो


३ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहाले १५ दिन लामो अनुसन्धानपछि सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई गाडीले ठक्कर दिएर ज्यान लिने समूहको पहिचान गर्न प्रहरी सफल भएको छ ।

पाँच जनाको समूहद्धारा सई यादवको हत्या भएको खुलेको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले बताए ।

सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । जसमध्ये एकजनाको संलग्नता खुलेको प्रहरीले जनाएको छ । हिरासतमा रहेकाको परिचय प्रहरीले खुलाएको छैन ।

एसपी पण्डितले पाँच जनाको समूहबाट हत्या भएको खुलेको छ । जसमध्ये एक जनालाई पक्राउ गरेका छौं। बाँकी चार जना फरार छन्’ भने ।

यसअघि सुरुमा प्रहरीले सई यादवलाई ठक्कर दिने स्कर्पियो गाडीको पहिचान गरेको थियो । उक्त गाडी भारतीय नम्बर प्लेटेको रहेको खुलेपछि घटनामा संलग्नहरुको पहिचान गर्न प्रहरी सफल भएको हो ।

१६ मंसिर बिहान ३ बजेर १० मिनेट जाँदा यादवको कमाण्डमा पाँच जनाको गस्ती टोलीले स्कर्पियो गाडीमा मदिरा तस्कर भएको देखेको थियो । मोटरसाइकलमा गस्ती रहेको सई यादवको टोलीले नेपाल प्रहरीसमेतको संयुक्त टोलीले उक्त गाडीलाई पछ्याएको थियो ।

सई यादवलाई सो क्रममा मदिरा तस्कर समूहको स्कर्पियोले ठक्कर दिएर भारततर्फ फरार भएको थियो । स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३ः४५ बजे प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको थियो।

४८ वर्षीय सई यादव सिरहाकै नरहा गाउँपालिका–४ ललभितियाका स्थानीय हुन्।

सई यादवको मृत्यु भएपछि अनुसन्धान अघि बढाएको सिरहा प्रहरीले घटनामा संलग्न भएको आशंकामा सुरुमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। अहिले ती मध्ये एक जनाको संलग्नता खुलेको हो । अहिले प्रहरी हिरासतमा रहेका व्यक्ति नेपाली हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *