सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : उत्पादन नबढाए तलब र उपदान दिन सकिँदैन
पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे
४ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादन बढाउन निर्देशन दिएका छन्।
मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् ।
पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे।
आज सिंहदरबार वैद्यखानाकझ अनुगमनपश्चात उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन नसकिने बताएका छन्।
मन्त्री पौडेलले ‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न।’ भने ।
मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिए।
‘बजारमा जति औषधि उत्पादन भए पनि वैद्यखानाको औषधि बिक्री हुनेरहेछ’ उनले भने, ‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ’ मन्त्री पौडेलले भने ।
कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग सुनाए । सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब खुवाउनका लागि सरकारले रकम दिन नसक्ने उनले प्रष्ट पारे ।