फोटो रविकै, तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

फेसबुकमा लाइभमा आउँदै उनले उक्त तस्बिर आफूले सीसीटीभी फुटेजबाट लिइएको खुलाएका छन्


४ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो बुधबार सार्वजनिक भयो । यो फोटो कसको हो र कहाँको भन्ने अन्यौल भयो । तर पछि प्रहरी हेडक्वाटरले यो फोटो रवि लामिछानेकै भएको पुष्टि गर्‍यो ।

फोटो सामाजिक सन्जालमा भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई बिहीबार बिहानै टेलिफोन गरी फोटोको वास्तविकताबारे सोधपुछ गरेका थिए ।

‘यो विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु ।’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने निकोलस भुसालले उक्त तस्बिर आफूले खिचेको सामाजिक सञ्जाल फेसबुकमार्फत नै बताएका थिए । पछि फेसबुकमा लाइभमा आउँदै उनले उक्त तस्बिर आफूले सीसीटीभी फुटेजबाट लिइएको खुलाएका छन् ।

स्क्रिनको फोटोको समय हेर्दा उक्त फोटो डिसेम्बर १४ तारिख (मंसिर २९ गते) को दिन दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेण्डमा खिचेको पाइएको छ ।

हिरासतको फोटो बाहिरिनुले सुरक्षाको कमाण्डमा प्रश्न उठ्नु स्वाभाविक रहेको जानकारहरुको बुझाइ छ ।

अहिलेको अवस्थामा यो फोटोलाई सुरक्षाको दृष्टिले मात्रै नहेरी अन्य कोणबाट पनि विश्लेषण गनुपर्ने तर्क केही प्रहरी अधिकारीहरुको छ । ‘सुरक्षाको दृष्टिकोणले त नराम्रो होला । जुन तरिकाले मानव अधिकार हनन् भयो भन्ने कुरा आएको थियो । यो कोणबाट पनि हामीले हेर्नुपर्छ’ पूर्वडीआईजी हेमन्त मल्ल भन्छन् ।

निकोलस भुसालले फेसबुकमा लाइभमा भनेका छन्, ‘मैले यो फोटो सीसीटीभी क्यामेराको फुटेजबाट खिचेको हुँ । खास मैले नखिच्नुपर्ने थियो । तर खिचेछु । उहाँ (रवि)को प्रेसर बढेको भन्ने सुनेर म बुझ्न गएको थिएँ, हौसला दिउँ भनेर गएको थिएँ । त्यतिबेला मैले सीसी क्यामेराको फुटेजबाट फोटो लिएको हो । ‘प्रहरीलाई बद्नाम गराउने मेरो नियत पनि होइन ।’

त्यसैगरी प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *