प्रिमियर लिगमा म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग २–१ ले पराजित
७ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले छैटौं हार व्यहोरेको छ । गएराति भएको खेलमा सिटीलाई एस्टन भिल्लाले २–१ गोलअन्तरले हराएको हो ।
भिल्लाको जितमा जोन डुरान र मोर्गान रोजर्सले १–१ गोल गरे । सिटीका फिल फोडेनले इन्जुरी समयमा गरेको गोल सान्त्वना बन्यो ।
खेलको १६औं मिनेटमा डुरानले गोल गर्दै भिल्लालाई घरेलु मैदानमा अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अगाडि रहेको भिल्लाले दोस्रो हाफको ६५औं मिनेटमा रोजर्सको गोलबाट २–० ले अघि बढ्यो । इन्जुरी समयमा फोडेनको गोल सिटीका लागि सान्त्वना बन्यो ।
सिटीले प्रिमियर लिगका पछिल्ला ८ खेलमा १ बराबरी र १ जित निकाल्दा ६ हार व्यहोरेको छ । सिटी १७ खेलबाट २७ अंकसहित छैटौं स्थानमा छ । भिल्लाले १७ खेलमा २८ अंक जोड्दै सिटिलाई उछिनेर पाँचौंमा उक्लिएको छ ।