कजाखस्तान विमान दुर्घटना : ३० भन्दा बढी यात्रुको मृत्यु, ३२ को जीवितै उद्धार
गन्तव्यमा पुग्नै लाग्दा बाक्लो हुस्सु लागेपछि विमानले आफ्नो मार्ग परिर्वतन गरेको थियो
११ पुस, काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ ।अजरबैजानको राजधानी बाकुबाट रुसको चेचन्यास्थित ग्रोजनी सहर जाने क्रममा कजाखस्तानको अक्ताउ सहरमा विमान दुर्घटना भएको हो । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ ।
कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् । उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर छ ।
गन्तव्यमा पुग्नै लाग्दा बाक्लो हुस्सु लागेपछि विमानले आफ्नो मार्ग परिर्वतन गरेको थियो । त्यसपछि विमान दुर्घटनाग्रस्त भएको र भीषण आगलागी भएको बताइएको छ । कजाखस्तानको यातायात मन्त्रालयलका अनुसार विमान दुर्घटनाको कारण पत्ता लगाउन अुनसन्धान सुरु भएको छ ।
बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान बुधबार कजाकस्तानमा दुर्घटना भएको थियो । बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो ।
उडिरहेको विमानमा आगो लागेर दुर्घटना भएको बताइएको छ । सो विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।
दुर्घटनास्थलबाट संकलन गरिएका शव जलेकाले चिन्न सकिने अवस्थामा छैनन् । त्यहाँ एक शिशु जवितै फेला परेका थिए । उनी बेहोस अवस्थामा थिए । तर उनको कागजात नभएकाले पहिचान गर्न कठिन भएको छ । ती शिशु हाल अस्पतालमा छन् ।
अजरबैजानको सरकारी समाचार एजेन्सीका अनुसार विमानको ब्ल्याक बक्स भेटिएको छ र दुर्घटनाको कारण पत्ता लगाउन तथा यात्राुहरुको सहायताका लागि एक आयोग गठन गरिएको छ ।