पिंगलास्थानमा युवती मृत्यु प्रकरण : सँगै बसेका युवक फरार
प्रहरीका अनुसार फरार युवक ‘लोकेट’ भइसकेका छन्
१८ पुस, काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटलमा मृत फेला परेकी युवती एकजना युवकसँग बस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अुनसार कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीय स्वस्तिका खड्काको शव फेला परेको हो ।
उनीहरू नयाँ वर्षको अघिल्लो दिन सो होटलमा बस्न गएका थिए । भोलिपल्ट ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केहीबेरमा आउँछु’ भन्दै निस्किएका थिए ।
तर, उनी नफर्केपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीका अनुसार बुधबार दिउँसो स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोका फुटाएर हेर्दा युवतीको शव बेडमा थियो ।
‘बाहिरबाटै ताला लगाएर केहीबेरमा आउँछु भन्दै ती युवक निस्किएका रहेछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘ती युवक नफर्किएपछि हामीलाई खबर आएको थियो ।’
प्रहरीका अनुसार फरार युवक ‘लोकेट’ भइसकेका छन् ।
उक्त होटलको ३ सय ८ नम्बर कोठामा युवतीको शव फेला परेको हो ।
मृतकका आफन्तबाट जाहेरी दरखास्त लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।