कांग्रेसले ३६ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने
पार्टीले गठन गरेको महाधिवेशन निर्देशक समितिसँगको समन्वयमा प्रतियोगिताहरुको सूची सार्वजनिक गरेको हो
१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले योगदान दिएका नेताहरूको नाममा विभिन्न शहरमा खेलकुद प्रतियोगिताहरू गर्ने भएको छ ।
संघ चैत मसान्तभित्र महाधिवेशन गर्ने चटारोमा रहे पनि पार्टीले गठन गरेको महाधिवेशन निर्देशक समितिसँगको समन्वयमा प्रतियोगिताहरुको सूची सार्वजनिक गरेको हो ।
बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा ३६ स्वर्गीय नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको छ। त्यस अन्तर्गत फुटबल खेल माघ १० देखि १७ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने छ ।
वीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका ३६ जना नेताहरूको नाममा फुटबललगायतका विभिन्न प्रतियोगिताको आयोजना गरिने भएको हो । चार सहिदहरू गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको नाम पनि सूचीमा रहेको संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । ।