एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै
केन्द्रीय सदस्यहरुले धारणा राखेपछि महासचिव शंकर पोखरेल र प्रधानन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने
२२ पुस, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आइतबार सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका केही केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन्। आजको बैठकमा लुम्बिनीका बाँकी केन्द्रीय सदस्य, गण्डकी,बागमती, मधेस र कोशी प्रदेशका केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन्। प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई समूहगतरुपमा विभाजन नगरी बैठकमा पालैपालो बोल्न दिइएको हो। केन्द्रीय सदस्यले ३ मिनेटभित्र प्रतिवेदन र राजनीतिक विषयमा बुँदागत रुपमा सुझाव र धारणा राख्नेछन्। यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेको थियो।
केन्द्रीय सदस्यहरुले धारणा राखेपछि महासचिव शंकर पोखरेल र प्रधानन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ।