भद्रपुर उडेको विमानमा प्राविधिक समस्या, काठमाडौं डाइभर्ट गरी अवतरण

जहाज उडेको केही मिनेटमै प्राविधिक समस्या देखिएको भन्दै क्याप्टेनले जहाजलाई काठमाडौं नै डाइभर्ट


२२ पुस, काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएको छ । प्राविधिक समस्या आएपछि सो जहाज काठमाडौं विमानस्थलमै फर्किएको छ ।

जहाज उडेको केही मिनेटमै प्राविधिक समस्या देखिएको भन्दै क्याप्टेनले जहाजलाई काठमाडौं नै डाइभर्ट गरेको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले जानकारी दिए ।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।

बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ ।

काठमाडौंबाट १०ः ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *