ट्रम्पले पूर्वपोर्नस्टारलाई चुप लगाउन रकम दिएको मुद्दाको आज निर्णय सुनाउने
यदि अदालतले सजायँ सुनाएमा कानुनी रुपमा दोषी व्यक्तिको रुपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नेछन्
२६ पुस, काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा आज २६ पुस गते निर्णय सुनाउँदै छ ।
ट्रम्पले पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा ट्रम्पविरुद्ध आज अदालतले निर्णय सुनाउन लागेको हो ।
अदालतले ट्रम्पको मुद्दालाई रोक्न गरेको अपिल खारेज गरिदिएको छ । सजायँ सुनाउने निर्णय रोक्नुपर्ने ट्रम्पको अनुरोधलाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयमा बहस हुँदा अदालतका न्यायाधीशहरुले बहुमतको आधारमा नस्वीकार्ने निर्णय गरेका हुन् । ५ जना न्यायाधीशले सजायँ सुनाउनुपर्ने र ४ जनाले सजायँ सुनाउन नहुने पक्षमा मत व्यक्त गरेका बीबीसीले जनाएको छ ।
अब अदालतले ट्रम्पलाई जेलमा पठाउने वा जेल बाहिर राखेर चालचलन सुधार्न मौका दिने वा जरिवाना तोक्ने वा निःसर्त छोड्नेबारे अदालतबाट निर्णय हुने बताइएको छ ।
यदि अदालतले सजायँ सुनाएमा कानुनी रुपमा दोषी व्यक्तिको रुपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नेछन् । यद्यपि उनलाई अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने बताइएको छ ।