विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल

इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग सो आग्रह गरेकी थिइन्


२६ पुस, काठमाडौं । नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ। नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेको हो।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी हुन् ।

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री राणाले इजिप्ट सरकार समक्ष सो आग्रह गरिन्।

आजै मन्त्री डा. राणाले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छन् । हाल कतारमा रहेका राजदूत अन्सारीले यस विषयमा आफूले कतारका विदेशमन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने बताएका थिए ।

हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला, बालबालिका एवं नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपिनको पनि रिहाइका लागि पहल गरिदिन डा। राणाले दुवै देशका सरकारलाई आग्रह गरेकी हुन् ।

यसअघि पनि गत बुधबार उनले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग सो आग्रह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *