कास्कीबाट रविसँगै छुटेका पूर्वडीआईजी जोशी अझै काठमाडौंमा हाजिर भएनन्
प्रहरी स्रोतका अनुसार, उनी अझै पोखरामै छन्
३ माघ, काठमाडौं । कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएका प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी हालसम्म अदालत उपस्थित भएका छैनन् ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशीलाई सूर्यदर्शन सहकारी प्रकरणमा ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो । धरौटी बुझाएर उनी लामिछानेसँगै छुटेका थिए ।
लामिछानेप्रति सरकारले प्रतिशोध साँधेको आरोप लाग्न थालेपछि गृह प्रशासनले रास्वपा सभापति लामिछानेसहित जोशीलाई पनि बाहिरै रहेर आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुने सुविधा दिएको थियो । तर, लामिछानेसँगै उही मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएका प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी भने हालसम्म अदालत उपस्थित भएका छैनन् ।
लामिछानेले शुक्रबार बिहान अदालतमा हाजिर हुने भनेका थिए । तर, उनी आइतबार मात्र उपस्थित भए । सहअभियुक्त जोशी चाहिँ बिहीबारसम्म पनि उपस्थित भएका छैनन् । प्रहरी स्रोतका अनुसार, उनी अझै पोखरामै छन् ।
‘पेशीमा चढाउनलाई बिहान १० बजे अगावै प्रतिवादीका तर्फबाट म उपस्थित भएको छु भनेर निवेदन आउनुपर्छ’, अदालतका एक अधिकारीले भने, ‘तर, अहिलेसम्म जोशीको हकमा उहाँ आउनु भएको छैन ।’