डस्टबिनभित्र भेटियो नवजात शिशुको शव, खटियो कुकुरसहितको प्रहरी टोली
गए राति बच्चा जन्माएर फोहोर फाल्ने डस्टबिनमा फालेको हुनसक्ने
३ माघ, काठमाडौं । प्यूठानमा बेवारिसे अवस्थामा फेला परेको छ । प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा नवजात शिशुको शवबारे प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
फोहोर संकलनका लागि राखिएको डस्टबिनमा बिहीबार बिहान शिशुको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दिउँसो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव केसीका अनुसार साँझबाट अनुसन्धानको कार्य अघि बढाइएको छ ।
‘घटनाबारे गम्भीर रुपमा अनुसन्धान थालिएको छ,’ उनले भने, ‘भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालेका छौं ।’
बिहीबार बिहानै शिशुको शव फेला परेको थियो । यद्यपि, कुकुरसहितको टोली आउने भएपछि दिनभर शव चलाइएको थिएन ।
गए राति बच्चा जन्माएर फोहोर फाल्ने डस्टबिनमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
शिशुको शव डस्टबिनमा घोप्टो परेको अवस्थामा स्थानीयले भेटेका थिए ।