बहस नसकिएपछि पूर्वडीआईजी जोशी प्रहरी हिरासतमा रहने
जोशीविरुद्धको पेशी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा थियो

६ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमा रहने भएका छन् । पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका जोशी हिरासतमा रहने भएका हुन् ।
काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएकाले उनी हिरासतमै रहेन भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले अदालतको आदेश अनुसार उनलाई आज परिसरकै हिरासतमा राखिएको बताए । भोलि सोमबार फेरि उनी अदालत उपस्थित हुनेछन् ।
उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । जोशीविरुद्धको पेशी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा थियो ।
यसअघि जोशीविरुद्ध कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।