महाभारतको जंगलमा लागेको आगो निभाउन सिम्रिकको हेलिकोप्टर परिचालन
सिम्रिकको हेलिकोप्टरमा पानी बोकेर नियन्त्रणको प्रयास थालिएको

११ माघ, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने गुवा भञ्ज्याङ् र आसपासको क्षेत्रको जङ्गलमा लागेको आगो निभाउन सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको छ। हेलिकोप्टरबाट पानी खन्याएर जंगलको डढेलो नियन्त्रणको प्रयास भइरहेको छ ।
आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार शुक्रबार दिउँसोबाट हेलिकोप्टरमार्फत् पानी लगेर खन्याएर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
बेथानचोककै वडा नम्बर २ मा पर्ने गुवाभन्ज्याङस्थित पार्कमा बनाइएको पाखेरीबाट पानी लिएर हेलिकोप्टरले आगलागी भएको स्थानमा खन्याउन थालेको हो ।
सो स्थानको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलो नियन्त्रणको लागि गृह मन्त्रालयमार्फत सिम्रिकको हेलिकोप्टरमा पानी बोकेर नियन्त्रणको प्रयास थालिएको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।