हमासले बन्धक बनाएका चार इजरायली महिला सैनिक रिहा
रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन्

१२ माघ, काठमाडौं । हमासले बन्धक बनाएका चार जना महिला रिहा भएका छन्। चारैजना इजरायली सेना सैनिक हुन् ।
हमासका अनुसार रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन् ।उनीहरू रिहा भएपछि इजरायलको राजधानी तेल अविवमा खुसीयाली माहोल छाएको छ।
युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले बन्धकहरूलाई मुक्त गरेको यो दोस्रो समूह हो । यसअघि उसले युद्धविराम सम्झौता कार्यान्वयन भएको पहिलो दिन आइतबार तीन इजरायली महिलालाई मुक्त गरेको थियो ।
हमासका बन्दुकधारीहरू र स्थानीय प्यालेस्टाइन नागरिक रिहाइअघि गाजा शहरको प्यालेस्टाइन स्क्वायरमा भेला भएका थिए । हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको थियो। रेडक्रसमार्फत उनीहरूलाई आफन्तको जिम्मा लाइनेछ।
युद्धविरामको घोषणा भएसँगै बन्धक बनाइएकहरू रिहा हुने क्रम जारी रहेको छ। चार महिला सैनिकको बदलामा इजरायलले करिब २ सय जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने बतइएको छ। यसअघि पहिलो चरणमा ३३ जना बन्धकहरूलाई रिहा गरिएको थियो।