अखिल क्रान्तिकारीको नेतृत्व छान्न मतदान सकियो, आजै गणना सुरु हुने
दुई हजार तीन सय ९८ प्रतिनिधि रहेकोमा एक हजार नौ सय २२ मत खसेको छ

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । आजै रातिदेखि मत गणना सुरु गरिने अखिल क्रान्तिकारीले जनाएको छ ।
मतदानबाट अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य छानिने छन् । दुई हजार तीन सय ९८ प्रतिनिधि रहेकोमा एक हजार नौ सय २२ मत खसेको छ ।
रातिबाट मतगणना सुरु हुने तथा भोलि बिहानसम्ममा अन्तिम मतपरिणाम आउने विद्यार्थी फ्र्याक्सन ईञ्चार्ज हिमाल शर्माले जानकारी दिए ।
अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा प्रतिस्पर्धामा छन् ।
खुला र आरक्षण गरी नौ उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठजना प्रतिस्पर्धी छन् । यस्तै, नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाबीच भिडन्त छ भने एक कोषाध्यक्ष पदका लागि चारजना उम्मेदवार छन् ।