धरौटी बदरको माग गर्दै उच्च अदालत पोखरा पुगे रवि
एकपछि अर्को ठाउँमा धरौटीमा माग भएसँगै उनले उच्च अदालत पोखरामा निवेदन दायर गरेका हुन्

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै उच्च अदालत पोखरा पुगेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
जिल्ला अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो ।
धरौटीमा छाड्नुको कारण पेश गर्न न्यायाधीश राजुकुमार खतिवडाको इजलासले आदेश गरेको थियो ।
अहिले रवि पनि जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत पुगेका हुन् ।
जिल्लाको आदेशमा चित्त नबुझेपछि फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम उच्च गएको रास्वपा सभापति लामिछानेका कानुन व्यवसायी डा. नारायण कडेंलले जानकारी दिए । ‘कार्यविधि संहिताको दफा ६९ बमोजिम साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिइएको हो,’ अधिवक्ता कडेंलले भने ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका रविलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजन पत्र दर्ता गराइएकोमा पुस २५ गते ६५ लाख धरौटीमा छुटेका थिए । पोखराबाट धरौटीमा माग भएसँगै काठमाडौं, चितवन र बुटवलबाटसमेत रविसँग धरौटी माग भएको छ ।
एकपछि अर्को ठाउँमा धरौटीमा माग भएसँगै उनले उच्च अदालत पोखरामा निवेदन दायर गरेका हुन् । उच्च अदालत पोखराका उपरजिस्ट्रार तथा सूचना अधिकारी निल पनेरुले लामिछानेको निवेदन दर्ता भएको र अब त्यो निवेदनउपर कारबाही प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।