प्रधानमन्त्री ओलीले किन बोलाए सत्तारूढ दलहरूको बैठक ?

आगामी माघ १८ गते शुक्रबारबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ


१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलहरूको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए।

आगामी माघ १८ गते शुक्रबारबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। उक्त दिन प्रधानमन्त्रीसहित प्रमुख शीर्ष नेताले सम्बोधन गर्दैछन्। सरकारले ल्याएको अध्यादेशको विषयमा विपक्षी दलले विरोध गरेपनि सत्तारुढ दलले भने नागरिकलाई छिटो सेवा दिन र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको बताउँदै आएका छन्।

सत्तासीन कांग्रेस र एमालेले सरकारद्वारा हालै जारी अध्यादेशबारे पार्टीका सांसदहरूलाई विज्ञ बोलाएर संसदीय दलमा जानकारी गराएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हालै पाँचवटा अध्यादेश जारी गरेका थिए। संसदलाई छलेर अध्यादेश ल्याइएको भन्दै केही नेताहरूले असन्तुष्टि जनाएपछि कांग्रेसले पार्टीका सांसदलाई अध्यादेशका विषयवस्तुबारे आइतबार जानकारी गराएको थियो।

पार्टीका केही सांसदले आलोचना गर्न थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा अध्यादेशका पक्षमा उभिन सांसदलाई निर्देशन दिएका छन्।

उनका अनुसार समसामयिक राजनीति, हिउँदे अधिवेशन, संसदमा लगिने विधेयकलगायतका विषयमा छलफल केन्द्रित हुनेछ। सरकारमा अहिले नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टी सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *