व्यवसायी विक्रम लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष


३० कात्तिक, काठमाडौं । चार जनाको समूहले नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा रड प्रहार भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

कात्तिक ११ गते दिउँसो उनीमाथि चार जनाको समूहले मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।
आक्रमण गर्ने समूहका ‘मार्शल’ भनिने शैलेन्द्र तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान गर्ने क्रममा आक्रमणमा को–को संलग्न थिए भन्नेसम्म प्रहरीले पत्ता लगाएको छ ।

तामाङका साथै अजय लामा, निश्चल सुनार र दीपक बरामु आक्रमणमा संलग्न भएको प्रहरीले बताको छ । अजय लामाले आक्रमण गर्न भनेपछि मात्र तामाङले आक्रमण गरेको प्रहरी समक्ष बताएका छन् । ‘ठगी मुद्दामा विक्रमकै कारण आफू साढे ३ वर्ष जेल बस्नु परेको भन्दै उनैले आक्रमण गर्ने योजना बनाएपछि आक्रमण गरेको हुँ,’ पक्राउ परेका तामाङले प्रहरी समक्ष भनेका छन् ।

प्रहरी स्रोतका अनुसार आक्रमणको योजना बनाएपछि उनिहरुले चार वटा नयाँ मोबाइल सेट र सिमकार्ड किनेका थिए । त्यो घटना पछि ती फोन र सिमकार्ड समेत प्रयोग भएको छैन । जसकारण फरार तीन आरोपीहरुलाई पक्राउ गर्न समस्या भएको प्रहरीको भनाइ छ ।आक्रमण गर्नुअघि उनीहरुले करिब एक सातासम्म विक्रमको रेकी गरेको समेत अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अधिकारीहरुले अजय पक्राउ परेपछि मात्रै एकिन कारण खुल्न सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *