अखिल क्रान्तिकारी अध्यक्षका तीन उम्मेदवारको रातो मसीको रेजालाई मात्रै मान्यता दिन माग
रेजाका लागि निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’ द्वारा रेजा लगाइएको मतपत्र मात्रै गणना गर्नुपर्ने माग

१५ माघ, काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्षका तीन उम्मेदवारले रातो मसीले रेजा लगाएको मतपत्रलाई मात्रै मान्यता दिनुपर्ने माग राखेका छन् ।
तीन अध्यक्षका उम्मेदवारहरू उपदेश यादव, सुदीन पौडेल र हेमन्त राईले निर्वाचन अधिकृतलाई मागपत्र पेस गरेका छन् ।
उनीहरूले रेजाका लागि निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’ द्वारा रेजा लगाइएको मतपत्र मात्रै गणना गर्नुपर्ने माग गरेका हुन् । अन्य रंग भेटिए मत बदर हुने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
कालो मसी रेजामा भेटिएपछि विवाद भएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरका विद्यार्थीहरू भने दुवै रंगका मसीलाई मान्यता दिएर गणना गर्नुपर्ने पक्षमा छन् ।
उनीहरूले वाल्मिकी क्याम्पसबाट पार्टी केन्द्रीय कार्यालयमा मतपेटिका लान नहुने माग समेत गरेका छन् । वाल्मिकीमा पठनपाठनमा समस्या भएकाले पेरिसडाँडामा लगेर मत गणना गर्ने तयारी गरिएको थियो ।