काठमाडौं जिल्ला अदालतको ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न आदेश
अदालतको वेबसाइटमा प्रत्यार्थी झिकाउन अन्तरकालिन आदेश दिइएको हो
१५ माघ, काठमाडौं । फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरकालिन आदेश दिएको छ। अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ ।
अदालतको वेबसाइटमा प्रत्यार्थी झिकाउन अन्तरकालिन आदेश दिइएको हो।
मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।
अदालतले आदेशमा भनेको छ, ‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भैरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर स् टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीको नाममा अल्पकालिन आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनू ।’
फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टरःटेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । राजन भुसाल निर्देशित फिल्म बुधबारदेखि प्रदर्शन तयारीमा थियो । नामलाई लिएर दुबै फिल्मबीच केही समयदेखि विवाद थियो । दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको थियो ।
