रविको थुनछेक बहस सकिएन, न्यायिक हिरासतमा पठाइयो
सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस नसकिएपछि भोलि पुनः बहस हुनेछ

२३ माघ, काठमाडौं । साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाउने आदेश भएको छ। चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय पठाइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।
सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस नसकिएपछि भोलि पुनः बहस हुनेछ। चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणका प्रतिवादी लामिछाने आज बिहान अदालत उपस्थित भएका थिए। आजै उनको बयान सकिएलगत्तै थुनछेक बहस सुरू भएको हो।
लामिछानेविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बहस भइरहेको हो। आज सरकारी वकिलहरूले बहस गरेका थिए। थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ।